
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित नेपाल वायुसेवा निगममा कार्यरत दुई महिला कर्मचारी पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोमबार राति करिब ९ः३० बजे नेपाल वायुसेवा निगमको उडान नम्बर RA415 मार्फत काठमाडौं–क्वालालम्पुर जान लागेका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्डब्यागेज चेकिङ क्षेत्रमा शरीर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा फेला परेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ गंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन्।
प्रहरीका अनुसार जननी बज्राचार्यको साथबाट ४ हजार ३०० अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिंगेट बरामद भएको छ। त्यस्तै, ममता पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगेट फेला परेको प्रहरीले जनाएको छ।
बरामद विदेशी मुद्रासहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




