
काठमाडौँ, २९ साउन — जाजरकोटमा अविरल वर्षासँगै तासुघाट खोलामा आएको भीषण बाढीले सडक तथा झोलुङ्गे पुल बगाउँदा भेरी करिडोर पूर्ण रूपमा ठप्प बनेको छ। बाढीका कारण नलगाड नगरपालिका–१० रोलीमा ४ वटा घर र एउटा नास्ता पसल बगेको छ भने दर्जनौँ नागरिक प्रभावित भएका छन्।
इलाका प्रहरी कार्यालय रग्दाका अनुसार बाढीले जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध बनाएको छ। हाल सो क्षेत्रमा यातायातका लागि कुनै पनि वैकल्पिक मार्ग उपलब्ध छैन।
उद्धार टोलीलाई घटनास्थल पुग्नै सकस
बिहान साढे ६ बजे घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको नेतृत्वमा खटिएको टोली बाटोमै रोकिएको छ। खोलाको झोलुङ्गे पुल नै बाढीले बगाएपछि करिब एक किलोमिटर पश्चिममा रहेको घटनास्थलसम्म प्रहरी टोली तत्काल पुग्न सकेको छैन।
अहिले परिस्थितिलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप टोली परिचालन गरिएको छ।
क्षतिको प्रारम्भिक विवरण
प्रहरीले दिएको जानकारी अनुसार बाढीले घरटहरा बगाए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ। प्रभावित परिवारहरू समयमै सुरक्षित स्थानमा सर्न सफल भएका छन्।
बाढीका कारण पृर्थि बहादुर विकको ९ जनाको परिवार, खैते विकको १० जनाको परिवार र हस्त विकको ८ जनाको परिवारको दुई तले घर पूर्ण रूपमा नष्ट भएको छ। त्यस्तै नर बहादुर विकको १० जनाको परिवार बस्दै आएको तीन तले घर पनि बाढीले बगाएको छ। यी सबै प्रभावित परिवारहरू अहिले सुरक्षित स्थानमा बसोबास गरिरहेका छन्।
यसका साथै बिर बहादुर विकको जग्गामा सुन्तली विकले सञ्चालन गर्दै आएको टिनको टहराको नास्ता पसल पनि बाढीले बगाएको छ। बाढीका कारण ३७ भन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्। घटनाको विस्तृत क्षति विवरण सङ्कलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।




