काठमाडौं । काठमाडौं उपत्यकामा चोरी भएका दुईपांग्रे सवारीसाधन खोजी गर्ने अभियानअन्तर्गत ट्राफिक प्रहरीले ५० वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

साउन महिनामा चोरी भएका सवारीसाधनमध्ये फेला परेका ५० वटा मोटरसाइकल तथा स्कुटरलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले बिहीबार रामशाहपथमा सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

फेला परेका सवारीमध्ये एउटा मोटरसाइकल प्रहरी हवल्दार दीपक सुनारको समेत रहेको छ। जेनजी प्रदर्शनका क्रममा ट्राफिक प्रहरी कार्यालयबाटै सुनारको बा.८५ प ६२७४ नम्बरको मोटरसाइकल चोरी भएको थियो। उनी त्यसबेला ट्राफिक एफएममा कार्यरत थिए। हाल उनि प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् ।

उनि खुसि हुदै फेसबुकमा लेख्छन् ः जेन्जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट हराएको मेरो मुटुजस्तै प्यारो बाइक आज ट्राफिक प्रहरीको सक्रियता र निरन्तर प्रयासका कारण पुनः आफ्नै हातमा लिन पाउँदा मन भावुक भएको छ। 🙏
यो बीचमा धेरैले साथ दिए, केहीले दुःखमा दुःख थपे, त केहीले खुसी हुँदै ‘खुच्चिङ’ समेत भने। तर मेरो मनमा एउटै विश्वास थियो-यो मेरो इमानदारीले कमाएको धन, पसिना र मेहनतको कमाइ हो, यत्तिकै हराएर कहाँ जान्थ्यो र!
आज बाइकसँगै मेरो मेहनत, आत्मविश्वास र विश्वास पनि फिर्ता पाएको अनुभूति भएको छ। यो बाइक फेला पारेर हस्तान्तरण गर्नुभएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा सम्पूर्ण प्रहरी परिवारप्रति हृदयदेखि नै आभार। ❤️🙏
समयले धेरै कुरा चिनाउँदो रहेछ-को आफ्ना हुन्, को पराइ र कसले दुःखमा साथ दिन्छन् भन्ने पनि।

कार्यालयबाट सरुवा भइसकेका सुनारको चोरी भएको मोटरसाइकल पनि ट्राफिक प्रहरीले खोजी गरेर फेला पारेको हो। बिहीबार एसएसपी काफ्लेले उक्त मोटरसाइकल सुनारलाई हस्तान्तरण गरे। सुनारसहित चार जना प्रहरी कर्मचारीका चोरी भएका मोटरसाइकल पनि यसै महिना फेला परेका छन्।

सवारी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी युनिटमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन महिनामा मात्रै दुईपांग्रे सवारीसाधन चोरी भएको भन्दै १५६ वटा निवेदन परेका थिए। तीमध्ये ८९ वटा मोटरसाइकल तथा स्कुटर फेला परिसकेको एसपी सुवेदीले बताए।

प्रहरीका अनुसार चोरी भएका सवारीसाधनको खोजीलाई निरन्तरता दिइएको छ। फेला परेका सवारीसाधन आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय