नेपालगञ्ज । सहसचिव भलकराम अधिकारीविरुद्ध दायर घुस तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रमाणका रूपमा पेस गर्ने उद्देश्यले नक्कली कागजात तयार गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका–२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा वडाध्यक्ष कौशलकुमार धोवी, वडासचिव वीरबहादुर थापामगर तथा रवीन्द्र लामिछाने र विकास चापागाईँविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगका अनुसार वडा कार्यालयमा रहेको लिखत प्रमाणित दर्ता किताबमा विवरण सच्याएर आर्थिक वर्ष २०७९/८० मा लामिछाने र चापागाईँबीच ७० लाख रुपैयाँ लेनदेन भएको देखाउने कागजात तयार गरिएको थियो। गत २९ असारमा दर्ता विवरणसमेत परिवर्तन गरी गलत लिखत तयार पारिएको आयोगको दाबी छ।

यो प्रकरण सहसचिव अधिकारीविरुद्धको पुरानो घुस तथा सम्पत्ति शुद्धीकरण मुद्दासँग जोडिएको आयोगले जनाएको छ। राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा अधिकारीले राजस्व छलीसम्बन्धी उजुरी मिलाइदिने भन्दै घुस लिएको आरोपमा आयोगले गत १ चैतमा उनीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

आयोगको आरोपअनुसार अधिकारीले एचके इन्टरप्राइजेजका सञ्चालक श्रीकृष्ण श्रेष्ठसँग ७० लाख रुपैयाँ घुस लिएका थिए। उक्त रकममध्ये २० लाख रुपैयाँ पोखरास्थित कुटी रिसोर्टका कर्मचारीको नाममा चेकमार्फत भुक्तानी गर्न लगाइएको र बाँकी ५० लाख रुपैयाँ भक्तपुरको दिव्यश्वरी आयोजनामा पाँच आना जग्गा खरिद गर्न प्रयोग गरिएको दाबी आयोगको छ।

उक्त जग्गा नेपालगञ्जका रवीन्द्र लामिछानेको नाममा खरिद गरिएको र घुसको रकम तथा कारोबारको वास्तविकता लुकाउन अन्य व्यक्तिको नाम प्रयोग गरिएको आयोगको आरोप छ। कुटी रिसोर्टका सञ्चालक देवेन्द्र केसी अधिकारीका निकट व्यक्ति रहेकोसमेत आयोगले उल्लेख गरेको छ।

घुसबाट प्राप्त रकमलाई विभिन्न माध्यमबाट व्यवस्थापन गरी स्रोत लुकाउने प्रयास गरिएको भन्दै अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरसमेत लगाइएको थियो। अधिकारीसहित देवेन्द्र केसी र रवीन्द्र लामिछानेविरुद्ध दायर उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ।

सोही मुद्दामा आवश्यक प्रमाणका रूपमा देखाउन वडा कार्यालयको अभिलेख नै परिवर्तन गरी कागजात तयार गरिएको निष्कर्षसहित आयोगले वडाध्यक्ष, वडासचिवसहित चार जनाविरुद्ध छुट्टै भ्रष्टाचार मुद्दा अघि बढाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय