कैलाली । रणनीतिक रूपमा महत्वपूर्ण मानिने कैलालीको चिसापानी क्षेत्रमा प्रहरी निरीक्षक मीरा खड्काको नेतृत्वमा सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ।

कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेयता इन्स्पेक्टर खड्काले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने र प्रहरी–नागरिक सम्बन्धलाई अझ मजबुत बनाउने विषयलाई प्राथमिकतामा राख्दै प्रहरी टोलीलाई परिचालन गर्दै आएकी छन्।

चिसापानी क्षेत्रमा अवैध गतिविधिमाथि निगरानी बढाउनुका साथै फरार प्रतिवादीको खोजी तथा पक्राउ, लागूऔषध नियन्त्रण र नियमित गस्तीलाई प्रहरीले प्राथमिकतामा राखेको छ। सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीको उपस्थितिलाई प्रभावकारी बनाउनेतर्फ समेत टोली सक्रिय देखिएको छ।

खड्काको नेतृत्वमा प्रहरी र स्थानीय समुदायबीचको समन्वयलाई समेत विशेष महत्व दिइएको छ। स्थानीय व्यापारी, युवा, बुद्धिजीवी तथा सर्वसाधारणसँग नियमित संवाद र सहकार्यले प्रहरीप्रतिको विश्वास बढाउन सकारात्मक भूमिका खेलेको स्थानीय स्तरमा चर्चा छ।

प्रहरी सेवाको मूल्याङ्कन अपराधी पक्राउको संख्याबाट मात्र नभई नागरिकले आफ्नो क्षेत्र सुरक्षित महसुस गरे–नगरेको आधारमा पनि हुने गर्दछ। यही मान्यतालाई आत्मसात् गर्दै चिसापानी प्रहरी नागरिकमैत्री सुरक्षा व्यवस्थापनतर्फ अघि बढेको देखिन्छ।

कर्तव्यप्रतिको निष्ठा, अनुशासन, व्यावसायिकता र नागरिकप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्ने प्रहरी नेतृत्वले संगठनप्रतिको जनविश्वास बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँछ।

चिसापानीमा इन्स्पेक्टर मीरा खड्काको नेतृत्वले प्रहरी सेवामा ‘सुरक्षा र सहकार्य’लाई प्राथमिकतामा राख्दै जनविश्वास निर्माणको सकारात्मक सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय