धनगढी । कैलालीको अत्तरिया क्षेत्रमा पछिल्लो समय शान्ति–सुरक्षा व्यवस्थापन थप प्रभावकारी बन्दै गएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीको नेतृत्व प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले सम्हालेपछि प्रहरीको निगरानी, गस्ती तथा कारबाहीमा सक्रियता बढेको हो।

डीएसपी महराको नेतृत्वमा प्रहरीले यौनजन्य गतिविधि, लागूऔषधको कारोबार तथा सेवन, अवैध गतिविधि र शान्ति सुरक्षामा चुनौती सिर्जना गर्ने क्रियाकलापविरुद्ध निगरानी र कारबाहीलाई तीव्रता दिएको छ।

मालाखेती क्षेत्रमा प्रहरीको सक्रियता बढेसँगै आपराधिक तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी कडा बनाइएको छ। शंकास्पद गतिविधि, लागूऔषध कारोबार तथा सार्वजनिक शान्तिमा असर पार्ने क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले नियमित गस्ती तथा चेकजाँचलाई प्राथमिकता दिएको छ।

प्रहरी संगठनभित्र डीएसपी महरा कर्तव्यनिष्ठ, सक्रिय र परिणाममुखी प्रहरी अधिकृतका रूपमा परिचित रहेको प्रहरी स्रोत बताउँछ। कार्यक्षेत्रमा देखिने सक्रियता, सुरक्षा चुनौतीको पहिचान र तत्काल परिचालनमा जोड दिने उनको कार्यशैलीले मालाखेती क्षेत्रमा प्रहरीको उपस्थिति थप प्रभावकारी बनेको स्रोतको दाबी छ।

स्थानीयस्तरमा समेत प्रहरीको नियमित उपस्थिति र कारबाहीले सुरक्षा अनुभूति बढेको बताइन्छ। यद्यपि, शान्ति–सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन प्रहरीको निरन्तर सक्रियता र समुदायसँगको समन्वय आवश्यक देखिन्छ।

डीएसपी महराको नेतृत्वमा मालाखेती प्रहरीले आगामी दिनमा लागूऔषध नियन्त्रण, अवैध गतिविधि न्यूनीकरण तथा सार्वजनिक सुरक्षा कायम गर्ने अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय