
जनकपुरधाम, २२ साउन — सरकार र मिटरब्याज पीडित पक्षबीच भएको ९ बुँदे सहमतिप्रति गम्भीर आपत्ति जनाउँदै मधेश प्रदेशका साहु-महाजनहरू सडक आन्दोलनमा उत्रिएका छन्। ‘पीडित लेनदेन संघर्ष समिति’को ब्यानरमा मधेशका आठै जिल्लाबाट जनकपुरधाममा भेला भएका उनीहरूले शुक्रबार शक्ति प्रदर्शन गर्दै सरकारको निर्णयविरुद्ध नाराबाजी गरेका हुन्।
प्रदर्शनकारीहरूले जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत धनुषा अगाडि पुगेर विरोध कार्यक्रम सम्पन्न गरेका छन्। सरकारले मिटरब्याज पीडितहरूसँग गरेको एकपक्षीय ९ बुँदे सहमति तत्काल खारेज हुनुपर्ने र सोही सम्झौताका आधारमा मन्त्रिपरिषद्बाट गरिएका निर्णयहरू पूर्ण रूपमा फिर्ता लिनुपर्ने उनीहरूको मुख्य माग रहेको छ।
पीडित लेनदेन संघर्ष समिति, मधेश प्रदेशका अध्यक्ष विजय यादवले सरकारले आफूहरूको जायज मागलाई बेवास्ता गरे अझ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। माग पूरा नभए आगामी भदौ १ गतेदेखि काठमाडौं पुगेर देशको प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गर्ने र माइतीघर मण्डलामा सशक्त धर्ना दिने कार्यक्रम तय भइसकेको जानकारी उनले दिए।




