पोखरा । वडा प्रहरी कार्यालय बैदामका नवआगन्तुक प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीले कार्यभार सम्हालेलगत्तै स्थानीय नागरिक समाज, सामुदायिक प्रहरी सेवा केन्द्र तथा विभिन्न सरोकारवाला निकायसँग परिचयात्मक भेटघाट र शान्ति सुरक्षा सम्बन्धी छलफललाई तीव्रता दिएका छन्।

हालै नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार वडा प्रहरी कार्यालय बैदाममा सरुवा भई आएका डीएसपी बोगटीले पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षण क्षेत्र लेकसाइड तथा आसपासका क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन समुदायसँगको सहकार्यलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

परिचयात्मक भेटघाटका क्रममा उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको मात्र नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको उल्लेख गर्दै नागरिक, व्यवसायी, पर्यटन व्यवसायी, होटल संघ, सामुदायिक प्रहरी सेवा केन्द्र तथा स्थानीय तहबीचको समन्वय अझ सुदृढ बनाउनुपर्ने धारणा राखेका छन्।

उनले पर्यटकीय क्षेत्र भएकाले बैदाममा पर्यटकको सुरक्षा, लागूऔषध नियन्त्रण, चोरी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरण, ट्राफिक व्यवस्थापन, रात्रीकालीन सुरक्षा तथा समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित काम अघि बढाइने बताएका छन्।

स्थानीय सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरूले पनि नयाँ नेतृत्वसँग सहकार्य गर्दै सुरक्षित, सभ्य र व्यवस्थित बैदाम निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले प्रहरी र समुदायबीचको विश्वास तथा समन्वय बलियो भए अपराध नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल प्रहरीभित्र मिलनसार, अनुशासित र कर्तव्यनिष्ठ अधिकृतका रूपमा परिचित डीएसपी सूर्यबहादुर बोगटी समुदायसँग प्रत्यक्ष संवाद गर्ने, नागरिकका गुनासा सुन्ने तथा समस्या समाधानमा समन्वयात्मक शैली अपनाउने प्रहरी अधिकृतका रूपमा परिचित छन्। विभिन्न जिम्मेवारीमा रहँदा उनले अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन तथा संगठनात्मक नेतृत्वमा समेत सकारात्मक छाप छाडेको सहकर्मीहरू बताउँछन्।

बैदामजस्तो देशकै प्रमुख पर्यटकीय क्षेत्रको सुरक्षा व्यवस्थापनमा समुदायको सक्रिय सहभागिता अपरिहार्य मानिन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै डीएसपी बोगटीले कार्यभार सम्हालेसँगै संवाद, सहकार्य र साझेदारीलाई केन्द्रमा राखेर अघि बढेको कदमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।

प्रहरीका अनुसार आगामी दिनमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई थप विस्तार गर्दै नागरिकसँग नियमित अन्तरक्रिया, सुरक्षा सचेतना, पर्यटकमैत्री सुरक्षा व्यवस्था तथा अपराध नियन्त्रणका कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय