
जनकपुरधाम — धनुषाको सबैला नगरपालिका–१२, नहरचोकस्थित मन्दिर परिसरमा मङ्गलबार राति एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय ४० वर्षीय बन्थु राउत कडेरीको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार मृतक कडेरी मन्दिरका पुजारी भने होइनन्। उनी बाहिर कामकाज गर्ने र राति सुत्नका लागि मात्र मन्दिर परिसरमा जाने गर्दथे।

घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले तालिमप्राप्त कुकुरसहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटाएको छ। प्रारम्भिक छानबिनबाट यो घटना विशुद्ध आपराधिक मनसायले घटाइएको देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले विज्ञप्ति जारी गर्दै यस घटनालाई हाल चलिरहेको धार्मिक विवादसँग नजोड्न आग्रह गर्नुभएको छ।
प्रहरीले सामाजिक सद्भाव र शान्ति-सुरक्षा कायम राख्न सर्वसाधारणमा अपिल गर्दै घटनामा संलग्न अपराधीलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।




