गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गोविन्द पन्थी धुर्कोट गाउँपालिकामा भेटघाटका क्रममा चिप्लिएर लडेपछि सामान्य घाइते भएका छन्। उनी आफ्नो निर्वाचन क्षेत्र गुल्मी क्षेत्र नं. २ अन्तर्गत धुर्कोटमा स्थानीयसँग भेटघाट गर्दै जाने क्रममा दुर्घटनामा परेका हुन्।

रास्वपा धुर्कोटका सभापति राजेन्द्र पोख्रेलका अनुसार पन्थीलाई धुर्कोट आधारभूत अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षण गराइएको थियो। परीक्षणपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी नियमित भेटघाट कार्यक्रममा नै सहभागी भइरहेका छन्।

दुर्घटनापछि सांसद पन्थीले सामाजिक सञ्जालमार्फत आफू सकुशल रहेको जानकारी दिँदै धुर्कोट गाउँपालिका–५ का वडा अध्यक्ष केशवराज भण्डारीप्रति आभार व्यक्त गरेका छन्। उनले लेखेका छन्, “बस्तुबाट बिचित्र गुफातर्फ जाने क्रममा चिप्लिएर ठूलो दुर्घटना हुन सक्ने अवस्था बनेको थियो, तर समयमै सहयोग पुग्दा ठूलो दुर्घटनाबाट बचियो।”
उनले यस्ता घटनाले जीवनप्रतिको जिम्मेवारी झन् गहिरो बनाउने अनुभूति हुने उल्लेख गर्दै बाँकी जीवन जनताको सेवा, विकास र सकारात्मक काममा समर्पित गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।
साथै, आफ्नो अवस्थाबारे चिन्ता गर्ने शुभेच्छुक, साथीभाइ र आफन्तप्रति धन्यवाद व्यक्त गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय