मोरङ, ८ साउन । लागुऔषध दुर्व्यसन, अवैध कारोबार नियन्त्रण तथा पुनःस्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सुधार गृहका सञ्चालक तथा व्यवस्थापकहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवालको उपस्थितिमा लागुऔषध दुर्व्यसनको रोकथाम, अवैध ओसारपसार तथा कारोबार नियन्त्रण र सुधार गृहहरूको सञ्चालन अवस्थाबारे विस्तृत छलफल गरिएको हो।

कार्यक्रममा विभिन्न सुधार गृहका सञ्चालक तथा व्यवस्थापकहरूले सहभागिता जनाउँदै लागुऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पारेको प्रभाव, दुर्व्यसनमा फसेका व्यक्तिको उपचार, पुनःस्थापना तथा सुधार गृहहरूले निर्वाह गरिरहेको भूमिकाबारे धारणा राखेका थिए।

छलफलका क्रममा सुधार गृहमा रहेका व्यक्तिहरूको सुरक्षा, उपचार, मनोसामाजिक परामर्श, खानपान, स्वास्थ्य परीक्षण तथा पारिवारिक पुनर्मिलनका विषयमा पनि विशेष जोड दिइएको थियो। साथै सुधार गृह सञ्चालनका क्रममा देखिएका कानुनी, प्रशासनिक तथा व्यवस्थापकीय चुनौती, सुरक्षाकर्मी र सञ्चालकबीच आवश्यक समन्वय तथा नियमित अनुगमनका विषयमा समेत छलफल भएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक कटवालले लागुऔषध दुर्व्यसन नियन्त्रण प्रहरीको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै परिवार, समुदाय, स्थानीय तह, शैक्षिक संस्था, स्वास्थ्यकर्मी तथा सुधार गृहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

उनले लागुऔषधको अवैध कारोबारमा संलग्न व्यक्तिबारे समयमै प्रहरीलाई सूचना उपलब्ध गराउन तथा सुधार गृहमा रहेका व्यक्तिहरूको मानव अधिकार, सुरक्षा र उपचारमा विशेष ध्यान दिन सञ्चालक तथा व्यवस्थापकहरूलाई आग्रह गरे।

कार्यक्रममा दुर्व्यसनमा फसेका व्यक्तिलाई अपराधीका रूपमा मात्र नभई उपचार, मनोसामाजिक परामर्श र पुनःस्थापनाको आवश्यकता भएका व्यक्तिका रूपमा हेर्नुपर्नेमा समेत जोड दिइएको थियो।

सुधार गृहका प्रतिनिधिहरूले गृह सञ्चालनका क्रममा भोग्नुपरेका समस्या, दुर्व्यसनमा फसेका व्यक्तिको व्यवहार व्यवस्थापन, परिवारसँगको समन्वय तथा पुनःस्थापनापछि समाजमा पुनःएकीकरणका चुनौतीबारे आफ्ना अनुभव साझा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषधको प्रयोग तथा अवैध कारोबार नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, निगरानी, अनुसन्धान र कानुनी कारबाहीलाई निरन्तरता दिँदै सुधार गृहसँगको समन्वयलाई अझ प्रभावकारी बनाइने जनाएको छ। साथै, यस अन्तरक्रियाले प्रहरी र सुधार गृहबीच सूचना आदानप्रदान, नियमित सम्पर्क तथा दुर्व्यसन नियन्त्रण र पुनःस्थापनासम्बन्धी अभियानमा सहकार्य थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय