
जनकपुरधाम, ७ साउन । मधेश प्रदेश प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अभियानका क्रममा प्रहरीले तीनवटा स्कारपियो गाडीबाट ३ हजार ३३२ किलो ४६० ग्राम गाँजा फेला पारेको हो।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार मध्यराति सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ क्षेत्रमा गरिएको अपरेसनका क्रममा बा.प्र.०१–०२५ च ०४३६, प्र १–०४–००१ च १५०७ र बा.प्र.०१–०२९ च ९५८६ नम्बरका स्कारपियोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शम्भुप्रसाद ढकालले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रदेशभर सघन निगरानी र खोजतलास अभियान सञ्चालन भइरहेको बताए। उनका अनुसार पछिल्ला दिनमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरी थप सक्रिय बनेको छ।
यसअघि बुधबार मात्रै प्रहरीले सिरहा जिल्लाबाट ६५३ किलो गाँजा बरामद गरेको थियो। लगातार भइरहेका बरामदका घटनाले मधेश प्रदेशमा लागुऔषध नियन्त्रण अभियानलाई थप तीव्र बनाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




