
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोग्राम थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्।
गृह मन्त्रालयअन्तर्गतको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार हवाईमार्ग हुँदै नेपाल आउने विदेशी यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा ब्युरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको मणिपुर राज्यकी २० वर्षीया मोनादेवी लङ्जाम र २३ वर्षीया ओइनाम एली रहेका छन्। उनीहरू थाइल्यान्डको बैंककबाट थाई एयर एसियाको उडान नम्बर एफडी–६५२ मार्फत काठमाडौं आएका थिए।
प्रहरीले उनीहरूको सुटकेसभित्र लुकाएर ल्याइएको ८ किलोग्राम थाई गाँजा बरामद गरेको जनाएको छ। साथै, उनीहरूको साथबाट दुई थान राहदानी (पासपोर्ट) र दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ।
लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।




