
काठमाडौं । हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने र जफत गरिएका राहदानी फिर्ता गराइदिने भन्दै रकम असुल्ने आरोपमा सशस्त्र प्रहरी बलका पूर्वएसएसपी गोपालकुमार गुरुङसहित तीन जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई साउन ४ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्ने अन्य दुई जनामा कलाकार नारदप्रसाद खतिवडा र बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त विक्रमबहादुर थापा रहेका छन्।

प्रहरीका अनुसार ललितपुरको सानेपा र धोबीघाटबाट असार १२ गते शंकास्पद गतिविधि तथा भिसा दुरुपयोगको आरोपमा अध्यागमन विभागले पक्राउ गरेका ९ जना चिनियाँ नागरिकलाई हिरासतबाट छुटाइदिने र विभागले जफत गरेका १५ वटा राहदानी फिर्ता गराइदिने आश्वासन दिँदै उक्त समूहले चिनियाँ पक्षसँग बार्गेनिङ गरेको थियो।
अनुसन्धानबाट पवन लामाद्वारा सञ्चालित ‘ड्रागन ब्रिज इन्टरनेसनल’ मार्फत नेपाल घुम्न आएका चिनियाँ नागरिकहरू पक्राउ परेपछि उनीहरूलाई छुटाइदिने बहानामा गिरोह पीडित पक्षको सम्पर्कमा पुगेको खुलेको छ।
गिरोहका सदस्यहरूले अध्यागमन विभागका महानिर्देशक (डीजी) सँग आफ्नो राम्रो पहुँच रहेको दाबी गर्दै ‘कमिसन’ दिए तत्कालै छुटाइदिने प्रलोभन देखाएका थिए। यस क्रममा उनीहरूले पीडित पक्षबाट ९ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेहरूमा उदयपुर कटारीका ३८ वर्षीय विक्रमबहादुर थापा, पश्चिम नवलपरासीका ५९ वर्षीय पूर्वएसएसपी गोपालकुमार गुरुङ तथा सर्लाहीका ५२ वर्षीय कलाकार नारदप्रसाद खतिवडा रहेका छन्।
प्रहरीका अनुसार गिरोहभित्र कामको स्पष्ट बाँडफाँट गरिएको थियो। पूर्वएसएसपी गुरुङले चिनियाँ पक्षसँग सम्पर्क र वार्ता गर्ने, थापाले रकम उठाउने तथा खतिवडाले अध्यागमनका महानिर्देशकसँग ‘सेटिङ’ मिलाइदिने जिम्मेवारी लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूको मोबाइल फोन र च्याट विवरणबाट आरोप पुष्टि हुने प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
पूर्वएसएसपी गुरुङ २०५८ सालमा नेपाल प्रहरीको नायब निरीक्षक (सई) बाट स्थानान्तरण भई सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए। पक्राउ परेका थापा भने १२ लाख २५ हजार रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा पहिलेदेखि नै फरार अभियुक्त रहेको पनि खुलेको छ।
प्रहरीले यो समूहले अन्य मुद्दाहरू पनि ‘मिलाइदिने’ भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको हुन सक्ने आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ।




