
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुरसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा सार्वजनिक सम्पत्तिको हिनामिना, सरकारी कागजातमा किर्ते तथा झुट्टा विवरण प्रविष्ट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

आरोपपत्रअनुसार तत्कालीन निमित्त कार्यकारी अधिकृत ठाकुर, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष धर्मेन्द्रकुमार झा, वडा सचिव उमेश चौधरीलगायतले आपसी मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियामा व्यापक अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएका छन्।
दुर्गा भगवती गाउँपालिका–३, मत्सरीमा वृद्धभत्ता, दलित भत्ता, एकल महिला (विधवा) भत्तालगायत सामाजिक सुरक्षा कार्यक्रममा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा योग्यता नपुगेका व्यक्तिलाई गैरकानुनी रूपमा भत्ता उपलब्ध गराइएको, प्रणालीमा झुट्टा विवरण प्रविष्ट तथा अद्यावधिक गरिएको र सरकारी अभिलेखसमेत सच्याइएको खुलेको आयोगले जनाएको छ।
अख्तियारका अनुसार उक्त अनियमितताबाट ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको पुष्टि भएपछि सम्बन्धित ४२ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
आयोगले दोषी ठहर हुने व्यक्तिबाट बिगो असुल, जरिवाना तथा कानुनबमोजिम सजायको माग गर्दै अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ।




