परासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएको करिब ५ केजी लागुऔषध अफिम भारतीय सुरक्षा निकायले बरामद गरेको छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीको संयुक्त टोलीले सरावल गाउँपालिका अन्तर्गत भुजहवा नाका हुँदै दसगजा पार गरेलगत्तै नेपाली नम्बर प्लेटको स्कुटरमा लैजाँदै गरिएको अफिम बरामद गरेको हो।

भारतीय सुरक्षाकर्मीका अनुसार गस्ती टोलीलाई देख्नेबित्तिकै स्कुटर चालकले बोकेको झोला फ्याँकेर पुनः नेपालतर्फ भागेका थिए। त्यसपछि भारतीय बजार लक्ष्मीपुर क्षेत्रमा, दसगजाबाट करिब ३०० मिटरभित्र चेकजाँच गर्दा झोलाभित्र कालो प्लास्टिकमा प्याक गरिएको करिब ५ केजी अफिम फेला परेको हो।

शीतलपुर सीमा सुरक्षा चौकी (बीओपी) का प्रभारी (सइ) शिवपूजनका अनुसार बरामद गरिएको लागुऔषध अफिम रहेको पुष्टि भएको छ। स्कुटर नेपाली नम्बर प्लेटको भए पनि नम्बर स्पष्ट रूपमा पहिचान हुन नसकेको भारतीय सुरक्षा अधिकारीहरूले जनाएका छन्।

लक्ष्मीपुर प्रहरी चौकीका इन्चार्ज मनिष तिवारीले अफिम बोकेर आएका युवक फरार रहेकाले उनको पहिचान तथा खोजी कार्य जारी रहेको जानकारी दिए। बरामद गरिएको अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य करिब २५ लाख रुपैयाँ रहेको प्रारम्भिक अनुमान गरिएको छ।

यता, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसी तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका प्रमुख एसपी सन्तोष रायमाझीले भने घटनाबारे आफूहरूलाई तत्काल जानकारी प्राप्त नभएको बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय