
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा २५ वर्षीया एक युवती मृत अवस्थामा फेला परेकी छन्। घटनालाई शंकास्पद मान्दै प्रहरीले हत्या हुन सक्ने कोणबाट विस्तृत अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार गेस्ट हाउसको एक कोठाबाट दुर्गन्ध आएपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले कोठाभित्र २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार सुनुवारको स्थायी ठेगाना कैलालीको धनगढी उपमहानगरपालिका–७ रहेको छ। उनी हाल काठमाडौंको माछापोखरी क्षेत्रमा बस्दै आएकी थिइन्।
शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन आएपछि मात्र खुल्ने भएकाले त्यसको प्रतिक्षा भइरहेको छ।
प्रहरीले घटनालाई शंकास्पद मृत्युका रूपमा दर्ता गरी हत्या हुन सक्ने सम्भावित कोणसहित विभिन्न पक्षबाट अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। अनुसन्धानका क्रममा गेस्ट हाउसको सीसीटीभी फुटेज, मृतकसँग सम्पर्कमा रहेका व्यक्तिहरू तथा अन्य प्रमाणहरूको समेत परीक्षण भइरहेको प्रहरी स्रोतले जनाएको छ।




