काठमाडौं । पूर्वी सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी कर्मचारीमाथि तस्करसँग मिलेमतो गरेको आशंकामा आन्तरिक छानबिन तीव्र पारिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा दुई जना डीएसपीसहित ११ जना कर्मचारीलाई सशस्त्र प्रहरी बलको मुख्यालय बलम्बु झिकाएर अनुसन्धान थालिएको हो।

स्रोतका अनुसार असार १० गते पहिलो चरणमा तीन जना कर्मचारीलाई मुख्यालय बोलाइएको थियो। त्यसपछि थप आठ जनालाई पनि छानबिनको दायरामा ल्याइएपछि हाल ११ जना कर्मचारीमाथि कानुन निर्देशनालयले अनुसन्धान गरिरहेको छ।

छानबिनमा परेका अधिकृतमध्ये सुनसरीस्थित सीमा सुरक्षा गुल्ममा कार्यरत डीएसपी शमशेर कार्की र यसअघि झापाको काँकडभिट्टामा कार्यरत भई हाल इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती रहेका छन्। सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार प्रारम्भिक अनुसन्धानले केही सीमाक्षेत्रमा तस्कर र सुरक्षाकर्मीबीच अस्वाभाविक सम्बन्ध देखिएको संकेत गरेको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्की ले केही कर्मचारीमाथि संगठनको नीति र कार्यविधिविपरीत गतिविधि गरेको आशंकामा कानुन निर्देशनालयमार्फत अनुसन्धान भइरहेको पुष्टि गरे। उनका अनुसार अनुगमनका क्रममा देखिएका विषयहरूको आधारमा कर्मचारीहरूलाई मुख्यालय बोलाएर आवश्यक छानबिन अघि बढाइएको हो।

मुख्यालयबाट गरिएको अनुगमनमा केही सीमाचौकीमा कार्यरत सुरक्षाकर्मीले भन्सार कर्मचारीसँग मिलेमतो गरी तस्करीजन्य गतिविधिलाई सहज बनाएको प्रारम्भिक निष्कर्ष आएको स्रोतले जनाएको छ। स्रोतका अनुसार भारतबाट ठूलो परिमाणमा सामान भित्र्याउँदा वास्तविक मूल्यभन्दा निकै कम मूल्यको मात्रै भन्सार रसिद काट्ने अभ्याससमेत भेटिएको छ।

छानबिनका लागि मुख्यालय तानिएका अन्य कर्मचारीमा सुनसरीस्थित बोर्डर आउट पोस्ट (बीओपी) लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द, नम्बर–३८ रिजर्भ गणका हवल्दार हरि मगर र केशव गुरुङ, नम्बर–२ गण झापाका हवल्दार विश्वास राजवंशी, पूर्व क्षेत्रीय अस्पताल सुनसरीका सई गणेश खड्का तथा नम्बर–४ गण सुनसरीका जवान पारस यादव रहेका छन्।

सशस्त्र प्रहरी बलले अनुसन्धान जारी रहेकाले दोष पुष्टि भए कानुन र संगठनात्मक व्यवस्थाअनुसार कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय