काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का आठ वटा गण तथा रिजर्भ गणका गणपतिहरूको एक वर्षे कार्यकाल असार मसान्तसँगै पूरा भए पनि उनीहरूको स्थानमा नयाँ गणपति खटाउने निर्णय अझै हुन सकेको छैन। यसले सशस्त्र प्रहरी मुख्यालयमा एसपी तहको सरुवा प्रक्रिया अपेक्षाभन्दा ढिलो भएको देखिएको छ।

गत वर्ष असार ८ गते गरिएको २४ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवामध्ये नौ जनालाई विभिन्न गणको जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार उनीहरूले साउन १ गतेदेखि जिम्मेवारी सम्हालेका थिए। यद्यपि नम्बर १३ गण पर्साका गणपति पुरनचन्द्र भट्टलाई माघ महिनामै अर्को जिम्मेवारीमा पठाइएकाले अहिले आठ गणका गणपतिहरूको मात्र कार्यकाल एक वर्ष पुगेको हो।

कार्यकाल पूरा गरेका गणमा नम्बर ६ गण सप्तरी, नम्बर ९ गण महोत्तरी, नम्बर १५ गण काभ्रे, नम्बर २० विपद् उद्धार गण सिनामंगल (काठमाडौं), नम्बर ३६ गण डोटी, नम्बर ३९ रिजर्भ गण बर्दिबास (महोत्तरी), नम्बर ४१ रिजर्भ गण चन्द्रौटा (कपिलवस्तु) र नम्बर ४३ रिजर्भ गण बनबेहडा (कैलाली) रहेका छन्। स्रोतका अनुसार यी गणको नेतृत्वमा जेठको पहिलो सातामा एसपीमा बढुवा भएका अधिकृतहरूलाई पठाउने तयारी छ।

यसअघि सशस्त्र प्रहरी मुख्यालयले असार १९ गतेदेखि लागू हुने गरी ७१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरिसकेको छ। तीमध्ये अधिकांशलाई गुल्मपतिको जिम्मेवारी दिइएको छ। तर डीएसपीको सरुवा सम्पन्न भइसक्दा पनि एसपी तहको सरुवा भने रोकिएको छ।

सशस्त्र प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई छ। डीएसपी सरुवापछि संयुक्त राष्ट्रसंघको पाँचौँ युनाइटेड नेशन्स चिफ अफ पुलिस समिट मा सहभागी हुन असार २१ गते अमेरिका गएका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल असार ३१ गते स्वदेश फर्किसकेका छन्। त्यसैले सरुवा प्रक्रिया अब चाँडै टुंगिने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङ केही गणपतिहरूको कार्यसम्पादनको समीक्षा गरेर मात्र सरुवा प्रक्रिया अघि बढाउने पक्षमा छन्। विवादमा आएका तथा अपेक्षित कार्यसम्पादन गर्न नसकेका केही गणपतिलाई समेत एकैपटक हेरफेर गर्ने तयारी भइरहेको बताइएको छ। केही समयअघि गृहमन्त्री गुरुङले पूर्वसूचना नदिई सीमावर्ती क्षेत्रको गोप्य अनुगमन गरी त्यहाँको सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको स्रोतको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय