सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहाले पछिल्लो पाँच दिनको अवधिमा जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ, नगद तथा मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मंगलबार राति मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकबाट प्लास्टिकबाहेक ७० मिलिग्राम लागुऔषध तथा सिराहा नगरपालिका–१५ बुधौरा चोकबाट एक ग्राम ५४० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थ बरामद गरिएको हो।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया–१ का करिब ३५ वर्षीय उमेश श्रेष्ठले सञ्चालन गरेको बेकरी पसलमा छापा मारेको थियो। पसलभित्र चारवटा कालो प्लास्टिकको पोकामा लुकाएर राखिएको लागुऔषध, २२ हजार २५० रुपैयाँ नगद र पाँच थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा बेकरी सञ्चालक उमेश श्रेष्ठसहित मिर्चैया–८ जीवा टोलका करिब ३२ वर्षीय चन्द्रप्रसाद गिरी र मिर्चैया–६ का करिब २१ वर्षीय देवकुमार पासवान पक्राउ परेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, गत शनिबार सीमावर्ती प्रहरी चौकी खिरौनाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका–१५ बुधौराबाट भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०१–००४ प ६२३५ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा एक ग्राम ५४० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थ बरामद गरेको थियो।

प्रहरीका अनुसार मोटरसाइकल चालक कल्याणपुर नगरपालिका–८ का करिब २२ वर्षीय सुनील मण्डलले भित्री वस्त्रमा कालो प्लास्टिकमा लुकाएर उक्त पदार्थ ल्याउँदै गरेका थिए। घटनामा मोटरसाइकलमा पछाडि सवार करिब १९ वर्षीय नरेश मण्डललाई पनि पक्राउ गरिएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय