
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित पत्रङ्गा पुल क्षेत्रमा प्रहरीले ७.५७ ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। धरानतर्फ लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विशेष चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
२०८३ असार ३० गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोली तथा विपद् व्यवस्थापन सुरक्षा बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमाण्डमा खटिएको टोलीले पत्रङ्गा पुल क्षेत्रमा संयुक्त चेकजाँच सञ्चालन गरेको थियो।

प्रहरीका अनुसार कालाबन्जारबाट धरानतर्फ जाँदै गरेको को २८ प २४३२ नम्बरको स्कुटी रोकी जाँच गर्दा चालक धरान उपमहानगरपालिका–१८ निवासी २५ वर्षीय सौगात सुनुवारको साथबाट दुई वटा प्लास्टिकको पोकाभित्र लुकाइछिपाइ राखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको हो। प्लास्टिकसहित तौल गर्दा ८.६३ ग्राम र प्लास्टिक हटाएर तौल गर्दा ७.५७ ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध, स्कुटी तथा पक्राउ परेका सुनुवारलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागूऔषध धरानतर्फ लैजाँदै गरिएको आशंका गरिएको प्रहरीले जनाएको छ। साथै यसको स्रोत, गन्तव्य तथा सम्भावित सञ्जालबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ।
सुरक्षा निकायका अनुसार पछिल्ला वर्षहरूमा सुनसरी–धरान क्षेत्र लागूऔषध ओसारपसारका दृष्टिले संवेदनशील बन्दै गएको छ। सीमावर्ती क्षेत्रबाट विभिन्न माध्यम प्रयोग गरी लागूऔषध भित्र्याई सहरी क्षेत्रमा पुर्याउने गतिविधि बढ्दै गएपछि निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारविरुद्ध सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ।




