
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको एकमहिने विशेष खोजी अभियानबाट हराएका ५१ थान मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
सोमबार आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बरामद गरिएका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

ट्राफिक प्रहरीले सवारी चोरी तथा हराएका सवारीसाधनको खोजीलाई प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गरेको जनाएको छ। अभियानका क्रममा विभिन्न स्थानबाट फेला परेका ५१ थान मोटरसाइकल तथा स्कुटरको आवश्यक अनुसन्धान तथा पहिचान प्रक्रिया पूरा गरी वास्तविक धनीलाई जिम्मा लगाइएको हो।
प्रहरीले हराएका सवारीसाधनको खोजी तथा चोरी नियन्त्रणका लागि यस्ता विशेष अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ। साथै, सवारीसाधन हराएमा वा चोरी भएमा तत्काल प्रहरीमा उजुरी दिन तथा सवारीसम्बन्धी कागजात सुरक्षित राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ।




