पोखरा । बहुमूल्य वस्तु भएको भन्दै सेतो टल्किने ढुङ्गाजस्तो पदार्थ देखाएर सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले कास्कीबाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२६, कालीकाचोकस्थित भाडामा बस्दै आएका व्यक्तिहरूले बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई झुक्याई ठगी गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो देखिने एक थान वस्तु, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर एक थान तथा ६ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–५ का ३५ वर्षीय राजन विक, सोही स्थानकी २७ वर्षीया रोशनी विक, ६९ वर्षीया खगिसरा कामी (बाटुली), म्याग्दीको मालिका गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–२६ बस्दै आएका ५१ वर्षीय दिलबहादुर बुढा मगर, म्याग्दीको रघुगंगा गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–२७ अर्चले बस्ने २९ वर्षीय दीपक गोतामे तथा कास्कीको पोखरा महानगरपालिका–२१, निर्मलपोखरी घर भई हाल मालेपाटन बस्दै आएका ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मा रहेका छन्।

प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय