काठमाडौं । वैदेशिक रोजगार विभागले विभागको पूर्वस्वीकृतिबिना भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई विदेश पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको ठहर गर्दै विभागले ती कम्पनीलाई पहिलो पटक सचेत गराएको हो।

विभागका अनुसार २०८२ चैतदेखि २०८३ जेठसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको उडान विवरण अध्ययन गर्दा ६७८ म्यानपावर कम्पनीले विवरण पेस गरेका थिए। तीमध्ये १५९ कम्पनीले विभागको अनुमति नलिई भारतीय विमानस्थलमार्फत श्रमिक पठाएको भेटिएको हो।

यस्तै, विभागले माग गरेको विवरण उपलब्ध नगराउने ४३९ म्यानपावर कम्पनीलाई पनि पहिलो पटक सचेत गराउँदै आवश्यक विवरण तत्काल पेस गर्न निर्देशन दिएको छ।

विभागका अनुसार पटक–पटक कानुन उल्लंघन गर्ने आठ म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ।

वैदेशिक रोजगार ऐनअनुसार नेपाली श्रमिकलाई स्वदेशी विमानस्थलबाट मात्र विदेश पठाउन पाइन्छ। विशेष अवस्थामा भारतीय विमानस्थल प्रयोग गर्नुअघि विभागबाट पूर्वस्वीकृति लिन अनिवार्य व्यवस्था रहेको छ।

भारतीय विमानस्थल हुँदै श्रमिक पठाइएको गुनासो बढेपछि विभागले २०८३ असार २६ गते सूचना जारी गर्दै सम्बन्धित म्यानपावर कम्पनीसँग प्रयोग गरिएको विमानस्थलको विवरण माग गरेको थियो।

विभागले सबै वैदेशिक रोजगार व्यवसायीलाई प्रचलित ऐन, नियम तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता उल्लंघन दोहोरिए थप कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय