
मोरङ । मोरङको विराटनगर महानगरपालिका–१४, जतुवाबाट कटुवा पेस्तोल, गोली र गाँजासहित एक जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला जोगवनीका ३१ वर्षीय सुभाषचन्द्र यादव रहेका छन्। उनलाई आइतबार बिहान करिब ५ः५० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको मोबाइल गस्ती टोलीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा टोलीले जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा एक थान कटुवा पेस्तोल, उक्त पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली, १४० ग्राम गाँजा, दुई थान मोबाइल फोन तथा एक थान भाला बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ।



