
काठमाडौं, असार २८ — लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले भारतको जोगबनीबाट काठमाडौं ल्याइएको ३२१ ग्राम ब्राउन हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार लागूऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न व्यक्तिहरूमाथि सूचना संकलन तथा विश्लेषण गर्ने क्रममा उपत्यकामा ब्राउन हेरोइन बिक्री गर्दै आएका धादिङ धुनीबेसी नगरपालिका–१ का ३८ वर्षीय अनिल श्रेष्ठलाई असार २८ गते ललितपुर महानगरपालिका–२९ हरिसिद्धिबाट २१ ग्राम ब्राउन हेरोइनसहित पक्राउ गरिएको थियो।

उनीमाथिको थप अनुसन्धानका क्रममा भारतको जोगबनीबाट फरेन्सगञ्ज हुँदै काठमाडौंसम्म निजी सवारी साधनमार्फत लागूऔषध ल्याई बिक्री गर्ने कार्यमा संलग्न मोरङ कटहरी गाउँपालिका–४ का ३५ वर्षीय जावेद आलम र सर्लाही खडक नगरपालिका–७ का ३४ वर्षीय विकास भगतलाई असार २७ गते ललितपुर महानगरपालिका–२९ हरिसिद्धिबाट ३०० ग्राम ब्राउन हेरोइनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।
उनीहरूको साथबाट कुल ३२१ ग्राम ब्राउन हेरोइन, लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु १ थान, लागूऔषध ओसारपसारमा प्रयोग गरिएको बा.१७ च ८२७९ नम्बरको ब्रिजा (Breeza) गाडी, नगद ३० हजार रुपैयाँ तथा ४ थान मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।



