
विराटनगर । नेपाल–भारत खुला सीमामा सुरक्षा सुदृढीकरण, तस्करी नियन्त्रण, सीमावासीसँग विश्वासको सम्बन्ध विस्तार तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले मोरङमा विशेष अभियान सञ्चालन गरेको छ। ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रममार्फत स्थानीय नागरिकका गुनासा प्रत्यक्ष सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने रणनीतिलाई प्राथमिकता दिइएको हो।
कार्यक्रम मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित मुसहरी बस्ती नजिक आयोजना गरिएको थियो। सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी पकली, सुनसरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनिष थापा नेतृत्वको टोली कार्यक्रममा सहभागी भएको थियो। टोलीमा नं. ३ गण मुख्यालय मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारी, सीमा सुरक्षा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्का तथा बीओपी दरैयाका सशस्त्र प्रहरी निरीक्षक शंकर कोइराला लगायतका अधिकारी सहभागी थिए।

अन्तरक्रियात्मक कार्यक्रममा स्थानीयवासी, समाजसेवी तथा भद्रभलादमीहरूले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, आवतजावतका समस्या र सुरक्षासम्बन्धी चुनौतीबारे खुलेर आफ्ना धारणा राखेका थिए। सशस्त्र प्रहरी नेतृत्वले ती विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको थियो।
कार्यक्रमपछि डीआईजी थापाले सीमामा परिचालित ड्युटी पोस्टहरूको निरीक्षण गर्दै सुरक्षाकर्मीलाई उच्च सतर्कता, अनुशासन, व्यावसायिकता र नागरिकमैत्री व्यवहार कायम राख्न निर्देशन दिएका थिए। सीमा सुरक्षामा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने उल्लेख गर्दै उनले बदलिँदो चुनौतीअनुसार तयारी अवस्थामा रहन जोड दिएका थिए।
यसै क्रममा उनले विराटनगर–१२ बखरीस्थित मनसुन प्रतिकार्य सुरक्षा बेस को समेत निरीक्षण गरी उद्धार सामग्री, उपकरण र जनशक्तिको तयारी अवस्थाबारे जानकारी लिएका थिए। मनसुनका कारण हुन सक्ने बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्लाई ध्यानमा राख्दै उद्धार टोलीलाई २४सै घण्टा तयारी अवस्थामा रहन, उपकरणको नियमित परीक्षण गर्न र विपद् आएलगत्तै तत्काल परिचालन हुने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका थिए।
सशस्त्र प्रहरीको यो अभियानले सीमा सुरक्षालाई समुदायसँग जोड्दै सूचना संकलन, अपराध नियन्त्रण र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नेपाल–भारत खुला सीमामा बढ्दो अवैध ओसारपसार, लागुऔषध कारोबार, मानव बेचबिखनलगायत चुनौतीका बीच स्थानीय समुदायसँगको प्रत्यक्ष संवादलाई सशस्त्र प्रहरीले रणनीतिक प्राथमिकताका रूपमा अघि बढाएको देखिन्छ।



