
काठमाडौं । फिफा विश्वकप २०२६ को टिकट बिक्रीसँग सम्बन्धित विवादका विषयमा पर्यटन व्यवसायी तथा अमेरिकाका लागि नेपालको आधिकारिक पर्यटन प्रवर्द्धक (Tourism Envoy) बिनोद अधिकारीले युवा तथा खेलकुद मन्त्रालयमा लिखित स्पष्टीकरण पेश गरेका छन्।
अधिकारीले मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै बुझाएको स्पष्टीकरणमा सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर टिकटको अनधिकृत बिक्री (कालोबजारी) गरेको भन्ने आरोप निराधार रहेको दाबी गरेका छन्। उनले आफू वा आफ्नो संस्था Fly Nepa Travels को उक्त टिकटको कालोबजारी वा अनधिकृत कारोबारसँग कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

स्पष्टीकरणमा उनले आफूले लामो समयदेखि वैधानिक रूपमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको उल्लेख गर्दै, व्यवसायिक मर्यादा विपरीत कुनै पनि गतिविधिमा संलग्न हुने आवश्यकता वा उद्देश्य नरहेको बताएका छन्।
अधिकारीका अनुसार, रवि रञ्जन कुमार नामक ग्राहकले भिसा नपाएका कारण प्रयोग गर्न नसक्ने टिकट बिक्रीमा सहयोग गरिदिन आग्रह गरेपछि व्यवसायिक सहयोगका रूपमा उक्त टिकटको विवरण संस्थाको फेसबुक पेजमा सार्वजनिक गरिएको थियो। तर, पोस्ट सार्वजनिक भएपछि टिकट एन्फाको आधिकारिक कोटासँग सम्बन्धित हुन सक्ने टिप्पणी आएपछि कानुनी संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त पोस्ट तत्काल हटाइएको उनले उल्लेख गरेका छन्।
उनले पछि गरेको सोधपुछबाट उक्त टिकट Radha Krishna Holidays & Tours मार्फत प्राप्त भएको जानकारी खुलेको दाबी गर्दै टिकटको वास्तविक स्रोतबारे आफूलाई पूर्वजानकारी नरहेको बताएका छन्।
स्पष्टीकरणमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई टिकटको वास्तविक स्रोत, एन्फाको आन्तरिक कोटा वा वितरण प्रणाली र सम्भावित कालोबजारी सञ्जालबारे निष्पक्ष छानबिन गर्न आग्रह गरिएको छ। आफूलाई मात्र दोषी देखाएर वास्तविक संलग्न पक्षलाई उन्मुक्ति दिन खोजिएको आभास भएको भन्दै अधिकारीले मन्त्रालयसँग निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
साथै, उनले आवश्यक परे टिकट ट्रान्सफरसम्बन्धी डिजिटल रेकर्ड, च्याट लग, स्क्रिनसट तथा अन्य कागजात उपलब्ध गराएर अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।



