
काठमाडौं । गणेश नेपाली आत्महत्या प्रकरणलाई लिएर प्रतिनिधिसभामा विभिन्न आरोप प्रत्यारोप भइरहेका बेला सांसद गोविन्द पन्थीले सरकारको बचाउ गर्दै तथ्य र कानुनका आधारमा मात्रै धारणा राख्न सांसदहरूलाई आग्रह गरेका छन्। उनले अपुष्ट सूचना र अतिरञ्जित अभिव्यक्तिका आधारमा संघीय सरकारलाई दोषी ठहर गर्नु न्यायोचित नहुने बताएका छन्।
राष्ट्रिय सेवा दल, २०८३ सम्बन्धी सैद्धान्तिक छलफलका क्रममा बोल्दै सांसद पन्थीले संसद जस्तो गरिमामय संस्थामा उठाइने विषयहरू तथ्य, प्रमाण र प्रचलित कानुनमा आधारित हुनुपर्नेमा जोड दिए। उनले भावनामा बगेर वा सामाजिक सञ्जालमा आएका अपुष्ट सूचनाका आधारमा अभिव्यक्ति दिनुभन्दा सम्बन्धित कानुनी व्यवस्था अध्ययन गरेर मात्रै धारणा राख्नुपर्ने बताए।

गणेश नेपालीको मोटरसाइकल काठमाडौं महानगर प्रहरीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार नियन्त्रणमा लिएको उल्लेख गर्दै उनले यस घटनालाई लिएर संघीय सरकारलाई प्रत्यक्ष रूपमा दोषी देखाउनु उचित नहुने धारणा व्यक्त गरे। स्थानीय तहको अधिकार क्षेत्रभित्र भएको कार्यलाई आधार बनाएर संघीय सरकारमाथि राजनीतिक आरोप लगाउनु तथ्यसंगत नहुने उनको भनाइ थियो।
संसद र सामाजिक सञ्जालमा गणेश नेपालीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको भन्ने दाबी सार्वजनिक भइरहेका बेला सांसद पन्थीले त्यसलाई तथ्यहीन भएको बताए। उनले सम्बन्धित कानुनी व्यवस्थाअनुसार उक्त कसुरमा एक हजार रुपैयाँ मात्र जरिवानाको व्यवस्था रहेको उल्लेख गर्दै गलत तथ्य प्रस्तुत गरेर जनमानसमा भ्रम फैलाउन नहुने बताए। सार्वजनिक पदमा रहेका व्यक्तिहरूले तथ्य पुष्टि नगरी अभिव्यक्ति दिँदा त्यसले समाजमा गलत सन्देश जाने भएकाले जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।
उनले कतिपय सांसदहरूले सम्बन्धित कानुन अध्ययन नगरी वा एकपक्षीय सूचनाका आधारमा संसदमा धारणा राख्ने गरेकोप्रति पनि असन्तुष्टि जनाए। संसदमा हुने प्रत्येक बहस विश्वसनीय सूचना, प्रमाण र कानुनी आधारमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले लोकतान्त्रिक संस्थाको विश्वसनीयता कायम राख्न सांसदहरू स्वयं जिम्मेवार हुनुपर्ने बताए।
पन्थीले कानुन सबैका लागि समान रहेको उल्लेख गर्दै कसैले पनि कानुन उल्लङ्घन गरे कानुनबमोजिम अनुसन्धान र कारबाही हुनुपर्ने स्पष्ट पारे। त्यस्तै, राज्यका निकायहरूले पनि आफ्नो अधिकार क्षेत्रभित्र रहेर कानुनसम्मत रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए।
गणेश नेपालीको मृत्यु अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै सांसद पन्थीले घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गर्न सरकारसँग माग गरे। उनले सत्यतथ्य यथाशीघ्र सार्वजनिक गर्न तथा घटनामा जो कोही व्यक्ति वा निकाय दोषी देखिए पनि कानुनबमोजिम कारबाही गर्न सरकारलाई आग्रह गरे।
उनले संवेदनशील घटनालाई राजनीतिक लाभहानिको विषय बनाउनु भन्दा सत्य, न्याय र कानुनी शासनको पक्षमा उभिनुपर्ने धारणा व्यक्त गर्दै संसदबाट जाने सन्देश तथ्यमा आधारित, जिम्मेवार र जनविश्वास बढाउने खालको हुनुपर्ने बताए।



