
सुनसरी । सशस्त्र प्रहरी बल नेपालले सुनसरीको कोशी गाउँपालिका–१ स्थित चार वटा गोठमा शुक्रबार मध्यराति छापा मारेर करिब ६ लाख ५० हजार रुपैयाँ बराबरका अवैध रूपमा भण्डारण गरिएका किराना तथा उपभोग्य सामग्री बरामद गरेको छ।
बराह वाहिनी मुख्यालयको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप राईको नेतृत्वमा ६० सदस्यीय टोलीले सञ्चालन गरेको अपरेसनमा चिनी, सुर्ती, लेज, पास्ता, हरियो मटर, मसुरो दाल, सर्फ, कोकलगायतका सामग्री बरामद भएका हुन्। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा सुनसरी क्षेत्रमा मात्रै ५ करोड २१ लाख ४३ हजार २०७ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ। सीमावर्ती क्षेत्रमा अवैध पैठारी नियन्त्रणका लागि निगरानी र अपरेसनलाई थप सशक्त बनाइने प्रहरीको भनाइ छ।



