काठमाडौं । राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनाको अनुसन्धान तीव्र पार्दै प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घटनाबारे अनुसन्धानका लागि दुई महिला र एक पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखी सोधपुछ भइरहेको छ।

मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपाली बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गम्भीर रूपमा जलेका थिए। उनलाई तत्काल वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान करिब ११:३० बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रारम्भिक जानकारीअनुसार नेपाली राइड सेयरिङ सेवामा आबद्ध थिए। घटनाका दिन राहदानी विभाग अगाडि पार्किङ गरिएको उनको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएपछि सुरक्षाकर्मीसँग विवाद भएको बताइएको छ। त्यसलगत्तै उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको उनका आफन्तको दाबी छ।

घटनाको वास्तविक कारण, नगर प्रहरीको भूमिका तथा घटनाअघि भएका सम्पूर्ण घटनाक्रमबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय