
सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला किनारमा करिब ५० वर्षीया एक महिलाको शव फेला परेको छ।
मंगलबार स्थानीयवासीले भैँसी चराउने क्रममा खोलाको किनारमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार उनको साथबाट पहिचान खुल्ने कुनै कागजातसमेत फेला परेको छैन।
महिलाको मृत्युको कारण पनि तत्काल खुल्न सकेको छैन। पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्रै मृत्युको कारण यकिन हुने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। मृतक महिलाको पहिचान खुलाउन स्थानीयवासी तथा आसपासका क्षेत्रमा आवश्यक जानकारी संकलन गर्ने काम भइरहेको उनले बताए।




