
दार्चुला । फैसला कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलालाई सम्मानित गरिएको छ।
सम्मानित दार्चुला जिल्ला अदालतले विभिन्न मितिमा दार्चुला जिल्ला अदालत तथा अन्य अदालतबाट भएका फैसला बमोजिम कैद तथा जरिवानाको लगत प्रभावकारी रूपमा असुल गरी फैसला कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाको उच्च मूल्याङ्कन गरेको हो।

उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप माननीय जिल्ला न्यायाधीश भुवन गिरी ले जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गौरव महत तथा कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हेमराज भट्टलाई प्रशंसापत्र प्रदान गर्नुभएको छ।
अदालतले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीको सक्रियता, समन्वय र जिम्मेवारीपूर्ण भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यस्तै कार्यसम्पादनको अपेक्षा गरेको जनाएको छ।
फैसला कार्यान्वयनलाई न्याय प्रणालीको प्रभावकारितासँग प्रत्यक्ष जोडिने महत्वपूर्ण पक्ष मानिने भएकाले यस क्षेत्रमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले हासिल गरेको उपलब्धिलाई उल्लेखनीय मानिएको छ।



