काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले गठन भएको सात दिनभित्र नेपाल सरकारसमक्ष प्रतिवेदन पेस गर्नेछ।

सहमतिअनुसार छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन र विगतको अभ्यासअनुसार आवश्यक निर्णय प्रक्रिया अघि बढाइनेछ।

त्यसैगरी, घटना भएको दिन फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनका आधारमा थप कारबाही गरिनेछ।

यस्तै, काठमाडौं महानगरपालिकाले आगामी कार्यपालिका बैठकबाट निर्णय गरी मृतककी श्रीमतीलाई योग्यता र क्षमताअनुसार रोजगारी उपलब्ध गराउने तथा उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था मिलाउने सहमति भएको छ। साथै, मृतकका आश्रित परिवारलाई राहत उपलब्ध गराउने, अन्त्येष्टि तथा काठमाडौंमा हुने काजक्रियाको सम्पूर्ण व्यवस्थापन गर्ने, परिवारको आवतजावत र बसोबास खर्च व्यहोर्ने तथा एकाघरका परिवारको स्वास्थ्य बीमाको व्यवस्था गर्ने सहमति पनि भएको छ।

पीडित पक्षले शव बुझ्ने, पोस्टमार्टमसहितका कानुनी प्रक्रियामा सहयोग गर्ने र अन्तिम संस्कार सम्पन्न गर्ने जिम्मेवारी लिने सहमति भएको छ।

सहमतिका मुख्य बुँदाहरू:

  • पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन।
  • छानबिन प्रतिवेदनका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने।
  • घटनास्थलमा खटिएका महानगर प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरी प्रतिवेदनअनुसार कारबाही।
  • मृतककी श्रीमतीलाई रोजगारी र छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने।
  • आश्रित परिवारलाई राहत उपलब्ध गराइने।
  • अन्त्येष्टि, काजक्रिया, आवतजावत र बसोबासको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने।
  • एकाघरका परिवारको स्वास्थ्य बीमाको व्यवस्था गरिने।
  • पीडित पक्षले शव बुझ्ने, पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रियामा सहजीकरण गर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय