पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ।

फरार प्रतिवादीहरूको खोजी अभियानलाई तीव्र बनाउँदै आएको कास्की प्रहरीले मातहतका प्रहरी इकाइहरूसँगको समन्वयमा विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजतलासका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कास्की जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी /डिएसपी विरेन्द्र कुमार पासवानका  अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट १२ हजार ३०० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ। पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका ७ जना, लागूऔषध सम्बन्धी कसुरका २ जना, नक्कली गहना चोरीका १ जना तथा सवारी ज्यान मुद्दाका १ जना रहेका छन्।

अदालतबाट फैसला भइसकेपछि पनि फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार फरार अभियुक्तको खोजी तथा पक्राउलाई आगामी दिनमा अझ प्रभावकारी बनाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय