
उर्लाबारी । लागू औषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउँदै समुदायमा विश्वास र सुरक्षाको भावना बलियो बनाउने प्रहरी अधिकृतका रूपमा उर्लाबारीकी प्रहरी निरीक्षक नवीन वली परिचित बन्दै गएकी छन्। उनी लागू औषध नियन्त्रणमा कानुनी कारबाहीसँगै जनचेतनालाई समान महत्व दिने कार्यशैलीका कारण स्थानीयवासीको प्रशंसा बटुलिरहेकी छन्।
प्रहरी निरीक्षक वलीलाई निडर, काबिल र जिम्मेवार प्रहरी अधिकृतका रूपमा चिनिन्छ। उनले लागू औषधको समस्यालाई केवल पक्राउ र अनुसन्धानको विषयका रूपमा नभई सामाजिक चुनौतीका रूपमा हेरेर विद्यालय, युवा क्लब, आमा समूह, स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै सचेतनामूलक अभियान सञ्चालन गरिरहेकी छन्।

उनको नेतृत्वमा सञ्चालित कार्यक्रमहरूमा लागू औषधको दुष्प्रभाव, यसको कानुनी पक्ष, युवामा पर्ने असर तथा यसबाट बच्ने उपायबारे स्पष्ट जानकारी दिइन्छ। विशेषगरी युवापुस्तालाई लक्षित गरी सञ्चालन गरिएका कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।
प्रहरी निरीक्षक वलीले समुदाय–प्रहरी साझेदारीलाई बलियो बनाउँदै लागू औषधविरुद्ध सूचना आदानप्रदान, सचेतना अभिवृद्धि र कानुनी कार्यान्वयनलाई सँगसँगै अघि बढाएकी छन्। आवश्यक परेका बेला उनी अपराध नियन्त्रणमा दृढ रूपमा उभिने र समुदायसँग आत्मीय सम्बन्ध कायम गर्ने अधिकृतका रूपमा समेत परिचित छिन्।
स्थानीयवासीका अनुसार उनको सक्रियता, अनुशासन, इमानदार कार्यशैली र निर्भीक नेतृत्वले उर्लाबारीमा लागू औषधविरुद्धको अभियानलाई थप प्रभावकारी बनाएको छ। प्रहरी र नागरिकबीचको विश्वास बढाउँदै सुरक्षित र लागू औषधमुक्त समाज निर्माणतर्फ उनले उल्लेखनीय योगदान दिइरहेकी छन्।
लागू औषधमुक्त उर्लाबारी निर्माण गर्ने लक्ष्यका साथ प्रहरी निरीक्षक नवीन वलीले अघि बढाएको अभियानले युवालाई सही मार्गतर्फ प्रेरित गर्ने, समुदायमा सकारात्मक चेतना फैलाउने तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




