
काठमाडौं । नेपाल प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै एकै दिन काठमाडौं, रुपन्देही र बाँकेबाट ब्राउन सुगर (हेरोइन) सहित चार जनालाई पक्राउ गरेको छ। तीन फरक कारबाहीमा प्रहरीले कुल १९९ ग्राम २१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
काठमाडौं उपत्यकामा भित्रिने सवारीसाधनको नियमित चेकजाँचका क्रममा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टमा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा सवार भारत, पश्चिम बंगाल, सिलिगुडीका ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोसलाई ७५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट बुझाइएको प्रहरीले जनाएको छ।

यस्तै, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ बाट १७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित मायादेवी गाउँपालिका–६ निवासी ३४ वर्षीय जगदीश यादवलाई पक्राउ गरेको छ। उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ।
त्यसैगरी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको संयुक्त टोलीले बाँकेको डुडुवा गाउँपालिका–२ बाट १०६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित २८ वर्षीय राजेन्द्र लोगुनियालाई पक्राउ गरेको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय लागूऔषध ओसारपसार नियन्त्रणलाई लक्षित गर्दै सीमा क्षेत्र, राजमार्ग तथा मुख्य प्रवेश नाकाहरूमा निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ। पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




