
काठमाडौं। डोल्पामा पैदल गस्तीका क्रममा घाइते भएका एक प्रहरी जवानलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
नेपाल प्रहरीका अनुसार, असार १२ गते राति करिब ८:४५ बजे जिल्ला डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–३ स्थित किराथान (साल्दाङ) बजार क्षेत्रमा प्रहरी चौकी साल्दाङबाट प्रहरी नायब निरीक्षक दामोदर ज्ञवालीको कमाण्डमा तीन सदस्यीय गस्ती टोली नियमित गस्तीमा खटिएको थियो।

गस्तीका क्रममा प्रहरी जवान ललित सुनार अचानक ढुंगामा चिप्लिएर लड्दा उनको दाहिने खुट्टाको घुँडामुनिको भागमा चोट लागेको थियो। दुर्गम भूगोलका कारण तत्काल उपचारमा चुनौती देखिएपछि उनको शीघ्र उद्धारको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल गिरिका अनुसार, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशेष पहल तथा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको समन्वयमा असार १३ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइते प्रहरी जवान सुनारलाई उद्धार गरी काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा थप उपचारका लागि पठाइएको हो।
डीएसपी गिरिले दुर्गम क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीको स्वास्थ्य, सुरक्षा र मनोबललाई उच्च प्राथमिकतामा राख्दै आवश्यक पर्दा तत्काल उद्धार तथा उपचारको व्यवस्था गर्ने नीति अनुरूप उद्धार कार्य सम्पन्न गरिएको बताए।
यस घटनाले कठिन भौगोलिक अवस्थामासमेत कर्तव्य निर्वाह गरिरहेका प्रहरी कर्मचारीप्रति संगठनको जिम्मेवारी, संवेदनशीलता र कल्याणप्रतिको प्रतिबद्धता थप स्पष्ट भएको देखिन्छ।




