काठमाडौं, असार ९ । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वर तथा मातहत कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ।

लागुऔषध ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार ‘जेन्जी अपरेशन’ अन्तर्गत फरार प्रतिवादीहरूको खोजी अभियान सञ्चालन गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट फरार रहेका मोरङका २९ वर्षीय ज्ञानेन्द्र खड्का र बारा परवानीपुर गाउँपालिका–२ का ३० वर्षीय खडानन्द प्रसाद यादव पक्राउ परेका हुन्।

प्रहरीका अनुसार ज्ञानेन्द्र खड्का १ सय ९४ दशमलव ६४० ग्राम ब्राउन हेरोइन (खैरो हेरोइन) सम्बन्धी मुद्दाका प्रतिवादी हुन्। उक्त मुद्दा २०८२ असार ८ गते दर्ता भई हाल फैसला हुन बाँकी रहेको ब्युरोले जनाएको छ।

त्यस्तै, खडानन्द प्रसाद यादव ७८ ग्राम खैरो हेरोइन बरामद भएको मुद्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। उक्त मुद्दा २०७९ मंसिर २० गते दर्ता भएको थियो र उनी पुर्पक्षका लागि कारागार चलान भइसकेपछि फरार रहेका थिए।

लागुऔषध नियन्त्रण ब्युरोले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिँदै कानुनी कारबाहीको दायरामा ल्याउने कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय