
कञ्चनपुर, असार ८ — कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित कटान क्षेत्रबाट प्रहरीले अवैध लागुऔषधसहित एक महिला वडासदस्यलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार अवैध लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा शनिबार प्रहरीले भीमदत्त नगरपालिका–१८ निवासी तथा सोही वडाकी वडासदस्य रूपा जैरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले शङ्कास्पद अवस्थामा फेला परेकी जैरूमाथि खानतलासी गर्दा दाहिने कोखामुनि कालो प्लास्टिकको पोकोमा लुकाएर राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ।
उनको साथबाट प्रोमेथाजिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल गरी जम्मा ३० एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी जैरूमाथि लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



