डोटी, असार ४ । विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले डोटीको जोरायल गाउँपालिका–२, बुडरमा नयाँ विपद् व्यवस्थापन बेस स्थापना गरेको छ।

विशेष समारोहका बीच आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग विजय सुवेदीले उक्त बेसको उद्घाटन गरेका हुन्।

यससँगै सुदूरपश्चिम प्रदेशमा सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन बेसको संख्या तीन पुगेको छ। यसअघि डडेल्धुरा सदरमुकाम र कैलालीको डुडेझारीमा विपद् व्यवस्थापन बेस स्थापना भइसकेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नायब महानिरीक्षक सुवेदीले विपद्को समयमा प्रत्येक क्षण महत्वपूर्ण हुने उल्लेख गर्दै नवस्थापित बेसले तयारी, उद्धार तथा राहत कार्यलाई अझ तीव्र, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे। उनले नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयमा तालिमप्राप्त गोताखोर तथा प्रदेशका सबै जिल्लामा विपद् उद्धारका लागि दक्ष जनशक्ति तैनाथ गरिएको जानकारी दिए।

उनले सुरक्षा युनिट स्थापना मात्र नभई त्यसलाई आवश्यक स्रोत–साधनले समेत सुसज्जित बनाउनुपर्नेमा जोड दिँदै स्थानीय तथा प्रदेश सरकारसँगको सहकार्य अपरिहार्य रहेको बताए। साथै, सशस्त्र प्रहरीले तयार गरेका समुदाय विपद् स्वयंसेवक र विपद् सूचकहरूलाई संस्थागत गरी सबै निकायले अपनत्व लिएर समन्वयात्मक रूपमा काम गरेमा मात्र विपद् उद्धार कार्य प्रभावकारी बन्ने धारणा राखे।

कार्यक्रमका विशिष्ट अतिथि तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले विपद् व्यवस्थापन बेस सञ्चालनका लागि आवश्यक स्रोत–साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय तहबाट पूर्ण समन्वय र सहयोग रहने बताए।

सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पालिकामा समुदाय विपद् स्वयंसेवक तालिम तथा पानीजन्य विपद्सम्बन्धी कृत्रिम घटना अभ्यास (सिमुलेसन) सञ्चालन गर्दै आएको छ। गत जेठ २९ गते चिसापानीस्थित कर्णाली नदीमा सशस्त्र प्रहरी बलको संयोजनमा बृहत् विपद् सिमुलेसन अभ्याससमेत सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका पदाधिकारी, सञ्चारकर्मी, समाजसेवी, निर्माण व्यवसायी, समुदाय विपद् स्वयंसेवक, विपद् सूचक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय