
धनगढी । प्रहरी नायब महानिरीक्षक (डिआईजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखको रूपमा पदभार ग्रहण गर्नुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार सरुवा भई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा हाजिर हुनुभएका डिआईजी भट्टराईले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो।

पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डिआईजी भट्टराईले सुदूरपश्चिम प्रदेशको समग्र शान्ति सुरक्षा अवस्था, अपराधको प्रवृत्ति तथा प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धी विषयमा जानकारी लिनुभएको थियो।
उहाँले प्रदेश मातहतका प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्रभावकारी बनाउने, नागरिक तथा पीडितमैत्री, सहज र द्रुत प्रहरी सेवा प्रवाह गर्ने, सुशासन तथा मानव अधिकारको संरक्षणमा विशेष ध्यान दिन निर्देशन दिनुभयो।
त्यसैगरी, प्रहरीको आचरण र व्यवहारमा सुधार, आर्थिक सुशासनको प्रवर्द्धन, लागूऔषध कारोबार तथा तस्करी नियन्त्रण, जुवातास लगायतका गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाई योजनाबद्ध ढंगले प्रहरी परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
नवनियुक्त प्रदेश प्रहरी प्रमुख भट्टराईले संगठनको व्यावसायिकता, जनविश्वास र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।



