
दाङ । सामाजिक सञ्जालमा एक युवतीलाई जंगलमा लगी खुकुरी देखाएर डरधम्की दिँदै कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। लुम्बिनी प्रदेश प्रहरीका अनुसार मिति २०८३ असार २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट बरामद गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्री लाई समेत नियन्त्रणमा लिइएको छ। दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रमेशले एक युवतीलाई जंगल क्षेत्रमा लगी खुकुरी देखाएर डरधम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
उक्त घटनाकी पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।



