रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले रुपन्देही जिल्लास्थित इलाका प्रहरी कार्यालय बेथरी र इलाका प्रहरी कार्यालय मंगलापुरको निरीक्षण तथा अवलोकन गर्नुभएको छ।

निरीक्षणका क्रममा महानिरीक्षक कार्कीले कार्यालयहरूको भौतिक अवस्था, सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन, अभिलेख व्यवस्थापन तथा समग्र कार्यसम्पादनबारे जानकारी लिनुभएको थियो। उहाँले दुवै कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूसँग प्रत्यक्ष भेटघाट गर्दै संगठनको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्देशन दिनुभयो।

उहाँले प्रहरी संगठनप्रति नागरिकको विश्वास कायम राख्न व्यावसायिकता, अनुशासन, इमान्दारिता र उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। कानुन कार्यान्वयनका क्रममा निष्पक्ष, पारदर्शी र जनमैत्री व्यवहार अपनाउन आग्रह गर्दै नागरिक सुरक्षालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।

महानिरीक्षक कार्कीले अपराध नियन्त्रण, अनुसन्धानको गुणस्तर अभिवृद्धि तथा समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, प्रविधिमैत्री प्रहरी सेवा विस्तार, सूचना व्यवस्थापन तथा डिजिटल प्रणालीको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिनुभयो।

बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरी कर्मचारीले आफ्नो क्षमता अभिवृद्धि, अध्ययन तथा तालिमलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उहाँले संगठनभित्र उच्च नैतिकता र व्यावसायिक मूल्य–मान्यता कायम राख्न आग्रह गर्नुभयो। कुनै पनि प्रकारको अनुचित गतिविधि, लापरवाही वा गैरव्यावसायिक व्यवहारप्रति संगठन शून्य सहनशीलताको नीतिमा रहेको उहाँले स्पष्ट पार्नुभयो।

निरीक्षणका क्रममा महानिरीक्षक कार्कीले कार्यालय परिसर, हिरासत कक्ष, मुद्दा शाखा तथा नागरिक सहायता कक्षलगायतका संरचनाको अवलोकन गर्दै कार्यालय व्यवस्थापनलाई थप व्यवस्थित, सेवाग्राहीमैत्री र प्रभावकारी बनाउन आवश्यक सुझाव दिनुभएको थियो।

उहाँले स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका खेल्न प्रहरी कर्मचारीलाई प्रेरित गर्नुभयो। नागरिकको अपेक्षा र विश्वासअनुसार सेवा दिन सके मात्र प्रहरीप्रति सकारात्मक धारणा स्थापित हुने उल्लेख गर्दै उहाँले “जनताको प्रहरी” बन्ने लक्ष्यलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

संगठन प्रमुखको निरीक्षण तथा निर्देशनले प्रहरी कर्मचारीहरूमा थप उत्साह, जिम्मेवारीबोध र मनोबल वृद्धि भएको विश्वास व्यक्त गरिएको छ। साथै, प्राप्त सुझाव र निर्देशनले कार्यालयहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी, परिणाममुखी र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय