
काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले ठूलो परिमाणको कोकिनसहित ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने विदेशी यात्रुहरूको प्रोफाइलिङ तथा शंकास्पद व्यक्तिहरूको निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

मिति २०८३ असार १ गते सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार २०८३ जेठ २६ गते कतार एयरवेजको उडान नं. QR ६४६ मार्फत इथियोपियाबाट दोहा हुँदै काठमाडौं आएका सेनेगलका नागरिक ४३ वर्षीय अमादो सारलाई ठमेलस्थित होटलबाट नियन्त्रणमा लिइएको हो।
खानतलासीका क्रममा उनले मुखमार्फत निलेर पेटभित्र लुकाई ल्याएका १६ वटा कोकिन भरिएका क्याप्सुल फेला परेका थिए। पछि अस्पतालमा स्वास्थ्यकर्मीको सहयोगमा थप ६० वटा क्याप्सुल निकालिएको थियो। कुल ७६ वटा क्याप्सुलबाट १ किलो ५०० ग्राम कोकिन बरामद गरिएको ब्यूरोका प्रवक्ता एसपी दुर्गा रेग्मीले जानकारी दिनु भयो ।
उक्त प्रकरणमा थप अनुसन्धानका क्रममा कोकिन लिन भारतको दिल्लीबाट काठमाडौं आएका दुई भारतीय महिलालाई पनि २०८३ जेठ ३१ गते पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरूमा भारत दिल्ली निवासी ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनी रहेका छन्।
बरामद सामग्रीमा १.५ किलो कोकिन, एक थान पासपोर्ट, दुई थान भारतीय आधार कार्ड र तीन थान मोबाइल फोन रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।



