
काठमाडौं । प्रहरी प्रधान कार्यालयले हालै गरेको वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) हरूको सरुवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईका निजी सुरक्षा अधिकृत (पीएसओ) सनम राई पनि परेका छन्। विशेष चासोका साथ हेरिएको यो सरुवापछि उनको स्थानमा तत्काल कुनै अन्य प्रहरी कर्मचारी खटाइएको छैन।
प्रहरीको कर्मचारी प्रशासन शाखाले जेठ २९ गते सार्वजनिक गरेको सरुवा सूचीमा वरिष्ठ सई सनम राईको नाम समावेश छ। उनी लामो समयदेखि प्रमुख आयुक्त राईको सुरक्षामा खटिएका थिए। स्रोतका अनुसार राई गृह मन्त्रालयमा सचिव रहँदादेखि नै सनम राई उनको पीएसओको भूमिकामा कार्यरत थिए।

सरुवा आदेशअनुसार उनलाई अख्तियारबाट नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको अंगरक्षक गणमा तानिएको छ। तर सरुवा सूची सार्वजनिक भएको केही दिन बितिसक्दा पनि उनी अझै प्रमुख आयुक्त राईकै सुरक्षामा खटिएको अवस्था रहेको बताइएको छ।
अख्तियार स्रोतका अनुसार उनको सरुवाका लागि न त आयोगबाट कुनै औपचारिक सिफारिस गरिएको थियो, न त कुनै गुनासो नै आएको थियो। प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार लामो समय एउटै जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीहरूको नियमित सरुवाअन्तर्गत उनी पनि परेका हुन्। उनले प्रमुख आयुक्तका लागि नयाँ पीएसओ व्यवस्थापन गर्न थप सरुवा प्रक्रिया अगाडि बढ्ने जानकारी दिएका छन्।
प्रहरी स्रोतहरूका अनुसार सनम राईमाथि संगठनसँग नियमित सम्पर्क र प्रतिवेदन प्रणालीमा सक्रिय नभएको आरोप लाग्ने गरेको थियो। यद्यपि अख्तियार स्रोतले उनीमाथि गोपनीयता भंग वा जिम्मेवारी निर्वाहमा कमजोरीसम्बन्धी कुनै औपचारिक आरोप नरहेको जनाएको छ।
अख्तियारमा प्रहरीसँग सम्बन्धित उजुरी तथा अनुसन्धानका विषयमा संवेदनशील सूचना चुहावट हुन सक्ने आशंकाबीच सुरक्षा व्यवस्थापनमा सतर्कता अपनाउने गरिएको स्रोतहरूको भनाइ छ। तर सनम राईको सरुवाको वास्तविक कारणबारे भने आधिकारिक रूपमा कुनै स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।
यस घटनाले अख्तियार प्रमुखको सुरक्षा व्यवस्थापन तथा प्रहरी संगठनभित्रको कर्मचारी व्यवस्थापन प्रक्रियाबारे थप चर्चा सुरु भएको छ।



