
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा (नासु) ज्ञानराज कँडेललाई ४० हजार रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ।
अख्तियारका अनुसार कँडेलले जग्गा रोक्का राख्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए। यस सम्बन्धमा आयोगमा उजुरी परेपछि पोखराबाट खटिएको विशेष टोलीले निगरानी तथा अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा कँडेललाई सेवाग्राहीबाट घुसबापत ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार पक्राउका बेला कँडेलको साथबाट घुस रकम ४० हजार रुपैयाँसहित स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ पनि बरामद गरिएको छ।
पक्राउ परेका कँडेलमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



