काठमाडौं — मोबाइलमा आएको शङ्कास्पद लिंकमा क्लिक गर्दा एक व्यक्तिको बैंक खाता ह्याक भई रातभरमै २५ लाखभन्दा बढी रकम चोरी भएको घटना सार्वजनिक भएको छ। साइबर ठगीसम्बन्धी यो प्रकरण काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमार्फत बाहिरिएको हो।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ। अभियोगपत्रअनुसार पीडित सुजन खनालको कनेक्ट आईपीएस प्रणाली दुरुपयोग गरी विभिन्न बैंक खातामा गरी कुल २५ लाख ४४ हजार १०० रुपैयाँ अनधिकृत रूपमा स्थानान्तरण गरिएको पाइएको छ।

घटनामा सप्तरीको डाक्नेश्वरी नगरपालिका–का २० वर्षीय आकाशकुमार पासवान र सिरहा लहानका २३ वर्षीय चन्देश्वर महतो संलग्न रहेको भन्दै उनीहरूलाई फरार प्रतिवादी कायम गरिएको छ।

अनुसन्धान विवरणअनुसार २०८२ जेठ २९ गते दिउँसो करिब ४:१५ बजे “THE_ALERT” नामबाट पीडितको मोबाइलमा एउटा सन्देश आएको थियो। उक्त सन्देशमा सुरक्षा कारण देखाउँदै कनेक्ट आईपीएस खाता “सस्पेन्ड” भएको र पुनः भेरिफाई गर्न लिंक दिइएको थियो। सोही लिंकलाई आधिकारिक ठानेर पीडितले क्लिक गरी केही बैंक विवरण भरेका थिए।

पछि शङ्का लागेपछि उनले प्रक्रिया रोक्ने प्रयास गरे पनि सोही समयमा ह्याकरहरूले प्रणालीमा पहुँच प्राप्त गरिसकेको अनुसन्धानले देखाएको छ। राति पीडित सुतिरहेको बेला उनको राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंक खाताबाट विभिन्न चरणमा रकम ट्रान्सफर गरिएको थियो।

अभियोगपत्रअनुसार सुरुमा परीक्षणस्वरूप १०० रुपैयाँ, त्यसपछि १० लाख ३० हजार रुपैयाँ गरी रकम आकाशकुमार पासवानको नेपाल एसबीआई बैंक खातामा पठाइएको थियो। त्यसैगरी नबिल बैंकबाट थप १ लाख ४४ हजार रुपैयाँ समेत सोही खातामा गएको देखिन्छ।

त्यसपछि जेठ ३१ गते बिहान पुनः १३ लाख ७० हजार रुपैयाँ चन्देश्वर महतोको लक्ष्मी सनराइज बैंक खातामा ट्रान्सफर गरिएको पाइएको छ। यसरी कुल २५ लाख ४४ हजार १०० रुपैयाँ चोरी भएको पुष्टि भएको हो।

हालसम्म पीडितले विभिन्न माध्यमबाट ८ लाख १० हजार ३९७ रुपैयाँ फिर्ता पाइसकेका छन् भने बाँकी रकम असुलीका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ। केही रकम रोक्का राखिएको पनि बताइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी कसुरमा मुद्दा दायर गर्दै दोषीलाई ७ वर्षसम्म कैद र जरिवाना हुने सजाय माग गरेको छ। साथै फरार प्रतिवादीलाई पक्राउ गरी पीडितलाई क्षतिपूर्ति दिलाउन समेत अदालतसँग अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय