
काठमाडौं । चर्चित सेफ सन्तोष साह चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई जनकपुरबाट पक्राउ गरेको हो। कार्यालयका अनुसार साहलाई गएराति पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा दिइएको चेक अनादर भएको विषयमा उनीविरुद्ध उजुरी परेको थियो। सोही प्रकरणमा नारायण साहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



