रूपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले शान्ति सुरक्षा सुदृढीकरण, साइबर अपराधबारे जनचेतना अभिवृद्धि तथा समुदाय–प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने विशेष अभियान सञ्चालन गर्ने भएको छ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रविधिमैत्री प्रहरी सेवा र समुदायको सक्रिय सहभागितामार्फत सुरक्षित समाज निर्माण गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

उनका अनुसार अभियानअन्तर्गत बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा ‘ह्याक फर सेफ्टी’, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सामुदायिक जागरण कार्यक्रम तथा बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा आयोजना गरिनेछ।

प्रहरी नायब महानिरीक्षक खत्रीले पछिल्लो समय साइबर अपराध, डिजिटल सुरक्षा चुनौती तथा प्रविधिसँग सम्बन्धित जोखिम बढ्दै गएकाले त्यसको सामना गर्न नवीन सोच र प्रविधिमैत्री उपाय आवश्यक रहेको बताए। उनले ‘ह्याक फर सेफ्टी’ कार्यक्रमले युवा, विद्यार्थी, सफ्टवेयर विकासकर्ता तथा नवप्रवर्तनकर्तालाई साइबर सुरक्षासम्बन्धी समाधान खोज्न र प्रहरी सेवामा उपयोगी प्रविधि विकास गर्न प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, लुम्बिनीमा आयोजना हुने शान्ति पदयात्राले शान्ति, सहअस्तित्व, सहिष्णुता र सामाजिक एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ। पदयात्रामा विद्यार्थी, अभिभावक, स्थानीयवासी, नागरिक समाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

प्रदेश प्रहरीका अनुसार सामुदायिक जागरण कार्यक्रममार्फत साइबर अपराध, लागुऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षालगायत सामाजिक विकृतिविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जेठ ३० गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने अभियानले समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै प्रदेशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय